काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिवारको प्रदेशसभा बैठक राखिएको थियो ।
तर प्रदेश सभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए । अब संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।