कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, पाएनन् भने के हुन्छ ?

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, पाएनन् भने के हुन्छ ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा (३) अनुसार गत भदौ २२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन। गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन्। कार्कीलाई यसअघि मत दिएको राप्रपाले पनि योपटक विश्वासको मत नदिने बताएको छ । अहिले प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन्। कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।

यसअघिको कार्यकालमा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए। यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन्। उनले प्रदेशसभा बैठक चलाउनु पर्ने छ । यस्तो अवस्थामा एमालेसँग ३९ मत मात्रै छ। मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावना छ ।