काठमाडौं, ४ असार । राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज गोलाप्रथाबाट निर्णय गरिने भएको छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्ने छ ।
राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ ।
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन आज संसद् भवनमा गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।
गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधि तय गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए । सो कार्य विधि अनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पट्याएर राखिनेछ ।
सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् । बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर टिप्न लगाइनेछ । सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् ।
प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुँयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वाचित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् ।
दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुनः ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।
अन्य खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।