मेक्सिकोले साविककाे विश्व विजेता जर्मनीलाई १–० ले हरायो

मेक्सिकोले साविककाे विश्व विजेता जर्मनीलाई १–० ले हरायो

मस्को, ३ असार । रुसमा जारी विश्वकपको समूह ‘एफ’मा रहेको साविक विश्व विजेता जर्मनी मेक्सिकोसंग १–० ले पराजित भएको छ ।

खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिएको थियो । जर्मनका स्टार खेलाडीहरुको दर्जनौं प्रहारलाई मेक्सिकोले गोल हुनबाट रोक्यो र जीत निकाल्न सफल भयो ।

५ संस्करणमा जर्मनी पहिलो खेलमै हार्ने चौथो साविक विजेता बनेको छ । मेक्सिको र जर्मनी रहेको समूह ‘एफ’मा स्विडेन र दक्षिण कोरिया पनि रहेका छन् ।

जर्मनी सन् १९८२ को विश्वकपपछि पहिलो पटक विश्वकपको आफ्नो सुरुआती खेलमा पराजित भएको हो । यतिमात्र होइन, हारका साथ प्रतियोगिताको उपाधि रक्षा अभियान सुरु गर्ने जर्मनी लगातार तेस्रो टोली पनि बनेको छ ।

सन् २०१० मा इटली र २०१४ मा स्पेन पहिलो खेलमा पराजित हुँदै उपाधि रक्षा अभियान सुरु गरेका थिए । उनीहरु दुवै समूह चरणबाटै बाहिरिएका थिए ।

जर्मनी र मेक्सिकोबीचको आजको खेलमा अर्को इतिहास पनि बनेको छ । ३९ वर्षीय बार्सिलोनाका पूर्व डिफेण्डर राफायल मार्कोस दोस्रो हाफमा मैदान छिर्दै लगातार पाँच विश्वकप खेल्ने तेस्रो फुटबलर बनेका छन् । यसअघि जर्मनीकै लोथर म्याथस र मेक्सिकोकै एन्टोनियो कार्भाजलले पाँच पटक विश्वकप खेलेका छन् ।