विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत: अष्ट्रेलियालाई २–१ ले हरायाे

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत: अष्ट्रेलियालाई २–१ ले हरायाे

रुस विश्वकपमा फ्रान्सले विजयी सुरुआत गरेको छ । म्यान्चेस्टर युनाइटेडका सुपरस्टार पाउल पोग्वाको विजयी गोलको सहयोगमा फ्रान्सले समूह सी को फ्रान्सले एशियाली प्रतिस्पर्धी अष्ट्रेलियालाई २–१ ले हराएको हो ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले अग्रता लियो । ५८औं मिनेटमा अष्ट्रेलियाली डिफेण्डरले गरेको ट्याकल भिडियो असिस्टेन्स रेफ्रीले फल करार गरेपछि पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले सदुपयोग गरेका थिए ।

तर, त्यसको चार मिनेटपछि नै रुसको काजान एरिनामा अष्ट्रेलियाले बराबरी गोल गर्ने अवसर पायो । फ्रन्सेली डिफेण्डर स्यामुएल उम्टिटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई माइक जेदिनाकले गोलमा परिणत गरेपछि खेल बराबरी भयो ।

तर, खेलको ८०औं मिनेटमा फ्रान्सले पुनः अग्रता बनायो । ओलिभर जिरोडको पासमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वाले गोल गरे । त्यसपछि गोल हुन नसक्दा त्यही गोलको सहयोगमा फ्रान्स विजयी भयो ।

-नेप्लेजबाट