मासिक राशिफल: २०७५ साल असार महिना यस्ताे छ

मासिक राशिफल: २०७५ साल असार महिना यस्ताे छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यो अवधि राम्रै छ । राशिस्वामी मङ्गलको प्रभाव पनि अनुकूल छ, लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । सातौं भावमा बृहस्पति बक्री हुँदा प्रेम, प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा भने निराशा हुनेछ । साझेदारीका काममा झमेला आउने छ, त्यसैले भाग्यका मार्गमा अवरोध सिर्जना हुनेछ । उता चौथो राहुले घरमा कलहको वातावरण सिर्जना गर्नसक्छ, त्यस्तै मानसिक रूपमा कमजोर भइने छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २१, २२, २९, ३०, ३१, गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् गणेशको उपासना गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

दोस्रो घरमा रहेको सूर्यको फल अनुकूल हुनेछैन, शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । आर्थिक दृष्टिले राम्रो समय छैन, सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको बेस हुनेछ । राशिस्वामी शुक्रले तेस्रो र चौथो घरमा भ्रमण गर्ने हुँदा केही आशावादी बन्न सकिन्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । भाग्येश शनिश्चर आठौं भावमा बक्री रहेकाले महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । यात्रा गर्दा र सवारीमा सचेत हुनु राम्रो हुन्छ, सामान्य दुर्घटनाको जोखिम पनि देखिन्छ । खासगरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४, २५, ३१ र ३२ गते तपाईंले सतर्कता अपनाएको जाति हुन्छ । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले घरमा रुद्री पूजा गराउने, भगवान् शंकरको आराधना गर्ने वा प्रत्येक शनिवार पीपलको पूजा गर्ने अथवा महाकाल शनिमृत्युञ्जय स्तोत्रको पाठ गरेमा राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

प्रारम्भमा तपाईंको आफ्नै राशिमा राशिपति बुधका साथमा सूर्यको उपस्थिति छ । ११ गतेपछि राशिस्वामी बुधले धनस्थानको भ्रमण गर्ने छ, त्यसैले अत्यन्त अनुकूल महिनाका रूपमा असार महिनाको आगमन भएको छ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । तर भाग्येश शनिश्चर सातौं भावमा बक्री रहेकाले पारिवारिक जीवन र दाम्पत्यसम्बन्धमा अनुकूलता देखिंदैन । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । उता आठौं भावमा रहेका मङ्गल र केतुले महत्त्वाकाङ्क्षी योजना सफल हुन दिंदैनन्, त्यसैले यस महिनामा प्राप्त हुने शुभफलमा अझ बृद्धि गर्न तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने अथवा श्री गणेशको उपासना गर्दा लाभ हुनेछ । खासगरी यस महिनाको सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तपाईंले यो महिना क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । परिवारमा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन गर्नु पर्ने छ । भाग्येश बृहस्पतिसमेत बक्री रहेकाले आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । समग्रतामा यो महिना प्रतिकूल समय छ । खासगरी यस महिनाको ०१, ०२, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अलि बढी संवेदनशील दिन हुनेछन् । त्यसैले यस महिनामा शुभफल प्राप्त गर्न भगवान् नारायणको उपासना गर्ने अथवा दैनिक रूपमा नारायण कवच, दुर्गा कवच वा दुर्गा चालिसाको पाठ गरेमा शुभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

राम्रो महिना छ, इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस असार महिनाको आगमन भएको छ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । पञ्चमेश बृहस्पति र पाँचौं भावमा रहेको शनिश्चर दुबै बक्री हुनाले सन्ततिको उन्नतिप्रगति, स्वास्थ्यस्थिति र आचरण चिन्ताको विषय बन्नेछ । प्रेमसम्बन्धमा उतारचढाव आइरहने सङ्केत छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् सूर्यनारायणको उपासना गर्नु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षणको समय हो, असार महिना । व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिसँग सम्पर्क बढ्ने छ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । लोकप्रियता हासिल हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । तर चौथो भावको शनि अढैया रहेकाले परिवारमा किचलो र कलहको वातावरण बन्नसक्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । त्यसैले शुभफलमा अझ बृद्धि गर्न दैनिक श्री गणेशको उपासना वा हनुमान् चालिसाको पाठ गर्नुका साथै प्रत्येक शनिवार पीपलको सेवा गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४, २५, ३१ र ३२ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

भाग्यस्थानमा भाग्येश बुधका साथमा सूर्यको उपस्थिति भएकाले सामान्यतया यो महिना अनुकूल नै रहने छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । राशिस्वामीको दसौं र एघारौं भावमा उपस्थिति हुने हुँदा प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । तर आफ्नै राशिमा रहेको बृहस्पति बक्री हुँदा काममा विलम्ब हुनेछ । चौथो भावको मङ्गल र केतुले पारिवारिक किचलो सिर्जना गर्नेछ । त्यस्तै लामो यात्रा सफल हुनेछैन । त्यस्तै पञ्चमेश शनि बक्री भएकाले छोराछोरीका क्रियाकलापले दिक्क मान्ने परिस्थिति बन्नसक्छ । यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र शनिवारका दिन पीपलको पूजा गर्नु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आठौं घरमा सूर्यको उपस्थिति हुने भएकाले यो महिना तपाईंका लागि अनुकूल हुनेछैन । परिवारमा विनाकारण झगडा र विवाद हुनेछ । अस्वस्थताको सङ्केत छ, खानपान, आहारविहारप्रति सचेत रहनु पर्छ । सवारीसाधन हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा पनि होस राख्नु वाञ्छनीय छ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । तर राशिस्वामी मङ्गल तृतीय भावमा रहेकाले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुनेछ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । सामान्यतया यस महिनाको ०१, ०२, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै किसिमको अशुभफल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा महामृत्युञ्जय मन्त्रको जाप गर्ने, प्रत्येक शनिवार पीपलमा पानी चढाउने अथवा कालभैरवको उपासना गर्नु वाञ्छनीय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

आफ्नै राशिमा शनिको बक्र गति, राशिस्वामी बृहस्पतिको समेत बक्रता र सातौं भावमा रहेको सूर्यको प्रभावले तपाईंले मानसिक रूपले तनावग्रस्त र अस्वस्थ रहनु पर्ने महिनाको आगमन भएको छ । यो समय एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । परिवारमा मनोमालिन्य बढ्नाले ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । आर्थिक दृष्टिकोणले यो समय कमजोर रहने छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷ चोरी हुने सङ्केत छ । त्यस्तै मुखमा अशुभताको वास छ, त्यसैले जोसँग जतिवेला बोले पनि शब्दलाई तौलेर प्रयोग गर्नु बुद्धिमानी हुनेछ । राशिस्वामी कमजोर भए पनि राज्यस्थानमा रहेकाले कडा परिश्रमपछि फाटफुट काम बन्ने सङ्केत पनि छ । सामान्यतया ०२, ०३, ०४, ११, १२, १३, २१, २२, २९, ३०, ३१, गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले गरिब र दुःखीहरूको सेवा गर्नुका साथै दैनिक रूपमा नारायण कवचको पाठ गर्नु तथा शनिवारका दिन पीपलको पूजा गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

यो समय अत्यन्त उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवन सुखद रहने छ । यद्यपि तपाईंको राशिस्वामी बाह्रौं भावमा र आफ्नै राशिमा मङ्गलग्रहको उपस्थिति भएकाले कतिपय ठाउँमा इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना पनि छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४, २५, ३१, ३२ गते तपाईंका लागि अशुभ रहने छन् । शुभफलमा कमी आउन नदिन तपाईंले शनिमृत्युञ्जय स्तोत्रको पाठ र भगवान् शिवको आराधना गर्नु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

असार महिनामा तपाईंको मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । तर राशिस्वामी शनिश्चर बक्री रहेकाले विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्र्यामा पनि अवरोध आउने छ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा शुभफललाई अझ व्यवस्थित र लाभदायक तुल्याउन माता बगलामुखीको उपासना गर्नु वा दैनिक रूपमा दुर्गा कवच, दुर्गा चालिसा वा देवीको कुनै मन्त्रको नियमित जाप गर्नु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

चौथो घरमा रहेको सूर्य र आठौं भावमा बक्री अवस्थामा रहेको राशिस्वामी बृहस्पतिका कारण अहिले समय तपाईंको प्रतिकूलमा रहेको देखिन्छ । असार महिना कडा मिहिनेत र परिश्रम गर्ने समय हो । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । घरायसी र पारिवारिक वातावरण सुखद रहने छैन । सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । तर भाग्येश मङ्गलको शुभ प्रभाव छ, त्यसैले आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ तर विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ ।सामान्यतया यस महिनाको ०१, ०२, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यस अवधिमा हुने अशुभफलको प्रवाहलाई कम बनाउन तपाईंले भगवान् नारायणको पूजाआजा गर्ने र हनुमान चालिसा वा दुर्गाकवचको पाठ गरेमा राम्रो हुनेछ ।

-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौँ ।