यही हाे विश्वकप उद्घाटन र फाइनल हुने रंगशाला

यही हाे विश्वकप उद्घाटन र फाइनल हुने रंगशाला

रुसको राजधानी मस्कोमा अवस्थित रंगशाला यस विश्वकपकै सबैभन्दा शानदार र प्रतिष्ठित रंगशाला हो । यही रंगशालामा विश्वकप उद्घाटन र फाइनल खेल आयोजना हुने भएको छ ।

मस्कोभा नदीको छेउमा रहेको यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । ८० हजार दर्शक क्षमताको यो रंगशाला जाने बाटोमा दर्शकहरूले विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन् । सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो ।

पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो । यस रंगशाला निर्माण तथा पुनर्निर्माणका लागि ४ सय मिलियन अमेरिकी डलर खर्च लागेको छ ।

यस रंगशालामा रुस र आउदी अरबले विश्वकप उद्घाटन खेल खेल्नेछन् भने १७ जुनमा जर्मनी र मेक्सिको, २० जुनमा पोर्चुगल र मोरक्को, २६ जुनमा फ्रान्स र डेनमार्कका खेलहरु हुनेछन् । त्यस्तै प्रिक्वार्टरफाइनल र सेमिफाइनल तथा फाइनल खेल यसै रंगशालामा हुनेछ ।