

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सीआईबीलगायत राज्यका सबै निकायप्रति एमालेले अविश्वास नगर्ने, तर सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप लगाए ।प्रतिनिधिसभा बैठकमा भट्टराईले भने, ‘सीआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको हुन्छ तर अचानक गाडी मोडिन्छ ।’सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूको नाम आउँदा अनुसन्धान प्रभावित भएको भट्टराईको भनाइ थियो । एमालेले त्यस्ता प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
‘एमाले र सीआईबीबीचमा केही अविश्वास सिर्जना गर्ने कोसिस भयो । एमालेले राज्यका कुनै निकायप्रति अविश्वास गर्दैन,’ उनले भने, ‘ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ । जब ठूलाहरूलाई समातिनुपर्ने हुन्छ, गाडी मोडिन्छ । हामीलाई झस्का पस्यो । इलेक्ट्रिक सिगरेटको बारेमा तमाम पत्रिकामा कुरा आए । हामी हेरिराख्या थियौं, सीआइबीले ठीकै छानबिन गर्ला भनेर तर केही उच्चपदस्थ नेताहरूको नाम आयो । सीआईबीको गाडीमा ब्रेक लाग्यो र मोडियो, हामीलाई झस्का पस्यो । भुटानी शरणार्थी केसमा त्यस्तै भयो ।’
भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका प्रहरी अधिकृतहरूलाई अचानक सरुवा गरिएको पनि भट्टराईले बताए । ‘सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएको छैन, हामीले त्यो बुझ्यौं । उसप्रति अविश्वास गरेको होइन । अदालतप्रति हाम्रो अगाध स्नेह छ, विश्वास छ । अख्तियारप्रति अगाध विश्वास छ, स्नेह छ,’ उनले भने, ‘ती हामी सबैले बनाएका संस्था हुन् । तर राजनीतिक दबाबको कारणले यी संस्थाहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छैन ।’ सीआईबीलाई निष्पक्षतापूर्वक काम गर्नबाट प्रभावित पार्न सत्तापक्षका ठूला नेताहरूले नै गरिरहेको उनको भनाइ थियो ।