नेविसंघ लमजुङले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

नेविसंघ लमजुङले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

आस गुरुङ । लमजुङ, २९ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ लमजुङले आज बिहानै बेसीशहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

नेपाल विद्यार्थी संघका जिल्ला सदस्य सुभाष अधिकारीको नेतृत्वमा मूल्य वृद्धिको विरोध गर्दै बेसीशहरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो । केन्द्रिय परिपत्र अनुसार जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको अधिकारीले बताए ।

यसअघि हिजो साँझ नेविसंघ लमजुङका विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन बाध्य बनाउने दावी समेत गरेका छन् ।