एनआइसी एसिया बैंकले १२ प्रतिशतमै ऋण दिने

एनआइसी एसिया बैंकले १२ प्रतिशतमै ऋण दिने

काठमाडौं । असार १ देखि ५ गतेसम्म हुने घरजग्गा मेलाको प्रायोजक एनआइसी एसिया बैंकले गर्ने भएको छ । मेलाको तयारीबारे जानकारी दिदैं नेपाल जग्गा तथा आवास विकास संघले मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्टलहरु रहने जनाएको हो ।

मेलाको आयोजक रहेको बैंकले १२ प्रतिशतमै घरजगगा धितो राखेर ऋण उपलब्ध गराउने भएको हो । बैंकले प्रकृति हेरी १२ प्रतिशतमै ऋण उपलब्ध गराउने बैंकका मार्केटिङ म्यानेजर सरोज भट्टराईले बताए । उनका अनुसार अन्य सेवा सुविधाको विषयमा बैंकले थप छलफल गरिरहेको छ ।

कार्यक्रममा संघका महासचिव मिनमान श्रेष्ठले सरकारले वर्षमा ३ पटकसम्म जग्गा कित्ताकाट गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा मान्यताप्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने नियमको स्वागत गर्दै यसबाट सरकारको कर असुलीमा सहयोग पुग्ने बताए ।

संघले अब थोरै आम्दानी हुनेहरुलाई पनि लक्षित गरी हाउजिङको विकास गर्ने तयारी गरेको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले बताए । घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामाग्री विक्रेता तथा सेवा प्रदायक संस्थाहरुका लागि मेला साझा मञ्च बन्ने आयोजकले विश्वास लिएको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले सयुक्त रुपमा गर्ने आयोजकले जनाएको छ ।