भष्टाचारको साङ्लोमा राजनीतिक परेकाे छ : गृहमन्त्री श्रेष्ठ

भष्टाचारको साङ्लोमा राजनीतिक परेकाे छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भष्टाचारको साङ्लोमा राजनीतिक परेका कारण मुलुक पछि परेकाले यसलाई निर्मुल पार्नुपर्ने बताउनुभएको छ ।

४५ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको समाजवादी यात्राको चूनौती  भ्रष्टाचार र दण्डहीनता बिषयक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको र त्यही अनुसार अनुसन्धान अघि बढाइने बताउनुभयो ।

उहाले भ्रष्टाचारका बिषयमा अनुसन्धान गर्दा राजनीतिज्ञ, व्यापारी, कर्मचारी लगाएतलाई कारवाही गर्दा विरोधका आवाज उठ्ने गरेको भन्दै सरकार कोहि पनि दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पार्नुभयो । धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई अर्को कानुन आफुले नमान्ने र सरकारले पनि त्यसलाई स्वीकार नगर्ने उहाले बताउनुभयो । त्यस्तै श्रेष्ठले लोकतन्त्रले जनताको जिवन परिवर्तन गर्ने गरि परिणाम दिन नसकेका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार समाजवादको ठूलो बाधक भएकाले यसलाई अन्त्य गर्नैपर्ने धारणा राख्नुभयो । उहाले नेपालमा धेरैपटक कम्युनिष्ट पार्टीको सरकार बनेपछि कांग्रेस र कम्युनिष्ट सरकारका कुनै अन्तर देख्न नसकेको बताउनुभयो ।

त्यस्तै नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले भ्रष्टचारविरुद्ध सरकारले लडेको लडाई सकारात्मक भएको भन्दै आफुहरुको पूर्ण साथ रहेको बताउनुभयो । उहाले आफुहरुले भ्रष्टाचारविरुद्ध लड्दा प्रतिवन्ध लगाउने काम भएको उल्लेख गर्नुभयो । विप्लवले नागरिकलाई आफ्नो अधिकार उपभोग गर्ने वातावरण बनाउर्दै समाजवादको लक्ष्यतर्फ अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले समाजवादको यात्रामा अनेकन चूनौति भएपनि भ्रष्टाचार ठूलो चूनौति भएको धारणा राख्नुभयो । समाजवादी मोर्चाको अभियानलाई भ्रष्टचार विरोधी अभियानमा केन्द्रमा राख्न नसके मोर्चा लामो समय नटिक्ने उहाले बताउनुभयो ।

उहाले बिगतका गलत प्रवृतिलाई अन्त्य गर्दै समाजवादको यात्रामा अघि बढ्नुपर्ने बताउनुभयो ।