काठमाडौं, २४ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरुको सूची तयार भएको छ। यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरुको सूचि तयार पारेको हो। मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई निर्देशन दिएका थिए। मन्त्री खनालको निर्देशनपछि समितिले आफूसँग भाडा सम्झौता गरेर सटर चर्को मूल्यमा अरुलाई नै भाडामा लगाउने बिचौलियाको सूचि तयार गरेको हो। कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ३८७ वटा सटर छन् । समितिले ती सटरमा क्षेत्रअनुसार ५ देखि ८ हजार भाडा लिने गरेको छ। तर, समितिसँग यति सस्तोमा भाडा सम्झौता गरेका बिचौलियाहरुले २ लाखसम्म भाडा असुल्ने गरेको मन्त्री खनालले सोमबार गरेको अनुगमनका क्रममा खुलेको हो । समितिले मासिक २७ लाख भाडा पाउने सटर बिचौलियाहरुले मासिक ७ करोड रुपैयाँभन्दा बढी उठाएर रजाई गरेको पाइएको छ।