तम्घास । गुल्मी जिल्लाको एक मात्र निर्माणाधिन रेसुङ्गा विमानस्थलमा आगामी जेठ २५ गते परिक्षण उडान हुने भएको छ । लामो समयदेखि निर्माण भइरहेको विमानस्थल अव पूरा हुने क्रममा रहेको छ । सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा तारा एयरको टुइनेटर विमानले परिक्षण उडान गर्ने भएको हो ।
गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार जेठ २५ गते बिहान १० बजे परीक्षण उडान गरिने भएको हो । महासचिव भुसालले कुनै कारण मौसमले साथ नदिएमा उडान सर्न सक्ने अन्यथा १० बजे उडान हुने बताएका छन् ।
बिमानस्थलमा उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तकाअनुसार नागरिक उड्यन प्राधिकरणको टोलीले गत महिना अनुगमन गरेपछि धुले उडान गर्न लागिएको हो । उनले भने, ‘गुल्मेलीहरुको जहाज चढ्ने सपना अब छिट्टै पुरा हुन्छ, यही शुक्रबार अर्थात जेठ २५ गते रेसुङ्गा एयरपोर्टमा जहाज आउँछ ।’
विमानस्थल निर्माण लागि हालसम्म झण्डै १२ करोड रुपैयाँ खर्च भईसकेको समितिले जनाएको छ । ६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा रहेको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ ।
०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको छैन । रेसुङ्गा विमानस्थलमा उडान शुरू भएपछि गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका यात्रुलार्इ सुविधा पुग्ने भएको छ ।