

काठमाडौं, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि डेरा पाउन नसकेको बताइन् ।
‘सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ,’ उनले भनिन्, ‘मैले डेरा खोजेको एक महिना पुरा भयो दलित भएकै कारण पाउन सकेका छैनौँ ।’ उनले संसदमा छुवाछुत अन्त्य भएको पटक पटक सुने पनि काठमाडौंमा नै छुवाछुत भोग्नुपरेको बताइन् । ‘छुवाछुतको भेदभाव हुने छैन भनेर सांसदमा सुनिरहेका छौं’ सांसद विश्वकर्माले भनिन् ‘काठमाडौंमै यस्तो छुवाछुत छ भने गाउँघरमा के होला ?’
गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था रहेको बताइन् । उनले दलित भन्ने शब्द नै हटाउन आग्रह गरिन् । ‘हामी दलित होइनौं शिल्पी हौं’ विश्वकर्माले भनिन् ।