पेट्रोलियम पदार्थको मूल्य बढ्दा चौतर्फी असर

पेट्रोलियम पदार्थको मूल्य बढ्दा चौतर्फी असर

काठमाडौं, २१ जेठ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै यसको असर चौतर्फी रुपमा परेको छ । यसको असर सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा समेत परेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा पनि बढेको छ । 

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्ने भएको छ । निगमले डिजेलको मूल्य ३ रुपैयाँ बढाएर प्रतिलिटर ९५ रुपैयाँ पुर्याइएसँगै यसको असर सार्वजनिक तथा ढुवानीका साधनमा पर्ने भएको छ । जसले खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुको ढुवानीमा असर गर्छ । स्वचालित मूल्यअनुसार भारतीय आयल निगम (आइओसी) ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो  । शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ ।