

काठमाडौं । नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पु-याउने अभियान थालेको नेपाल तरुण दलले केन्द्रदेखि वडा तहसम्मको पहिलो चरणको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले हार बेहोरेपछि अरु भ्रातृसंस्था एक आपसमा आरोप प्रत्यारोपमा उत्रिरहेका बेला नेपाल तरुण दल एकढिक्का भएर संगठन विस्तारमा जुटेको हो । ‘एक घर एक तरुण’ अभियान सुरु गरेको तरुण दलले जेठ १९ गते वडा तहसम्मको भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । गत चैत २५ गते पूर्व झापाको बिर्तामोडबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको प्रारम्भ गरेको तरुण दलले वैशाख १३ गते सुदूरपश्चिमको धनगढीमा पुगेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।
संगठन विस्तारमा तरुण दलले सफलता पाएसँगै कम्युनिस्ट राज्य सत्ता झस्किएको छ । राज्य सत्ताले तरुण दलका नेता तथा कार्यकर्तालाई ‘डिमोरलाइज’ गर्ने अभियान सुरु गरेको छ । प्रशिक्षण कार्यक्रम चल्दै गर्दा तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र क्षेत्रीय अध्यक्ष ईश्वर गुरुङलाई पक्राउ गरी झुटा मुद्दा लगाएको छ । संगठन निर्माणमा भन्दा तरुण दलको ध्यान उनीहरूको रिहाइका लागि केन्द्रित होस् भन्ने रणनीतिका साथ कम्युनिस्ट राज्यसत्ताले कार्यकर्ता पक्राउ गरेको हो ।
समाचार स्रोतका अनुसार तरुण दलका धेरै कार्यकर्तालाई प्रहरी अधिकृतले भेटेरै र फोनमार्फत भन्ने गरेका छन्– ‘तपाईले केही समय राजनीतिक गतिविधि नगरिदिनुहोला, पुराना मुद्दा ब्युँत्याएर पक्राउ गर्ने रणनीति कम्युनिस्ट राज्यसत्ताले बनाएको छ, साथीको नाताले मात्रै मैले तपाईलाई यो कुरा भनेको हुँ, कसैलाई सेयर नगर्नु होला ।’ देशव्यापी प्रशिक्षण कार्यक्रमबाट उत्साहित तरुण दलले छिट्टै विशेष कार्यक्रमको घोषणा गर्ने अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । विसंगति र विकृतिविरुद्ध तरुणको महाअभियान सञ्चालन हुने उनको भनाइ छ ।