

काठमाडौं, १९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे भारतमा उपचारपछि अाज स्वदेश फिर्दै हुनुहुन्छ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको घिमिरेकी छोरी उषा अधिकारीले जानकारी दिनुभयाे । ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।’
राष्ट्रकवि अाज बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यहीजेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।
नयाँदिल्ली जानुअघि उहाँको वैशाख २८ गते धापासीमा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्ता अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उहाँको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर पनि जानुभएको थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।