फोरम पनि सरकारमा, बास्कोटा मन्त्रीमा बढुवा

फोरम पनि सरकारमा, बास्कोटा मन्त्रीमा बढुवा

काठमाडाैँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । अाज संघीय समाजवादी फोरम सरकारमा सामेल भएको हाे । फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागी भएका छन् ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मोहम्मद इस्तियाक राइनले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।

संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुईबुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

यसअघि फोरमका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने चर्चा चले पनि अन्तिम समयमा उनको सट्टा मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् । श्रेष्ठ पहिले नेकपा एमालेमा थिए ।

एमाले विभाजनपछि उनी नेकपा मालेका नेता थिए । पछि एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भयो । राईसँगै श्रेष्ठ पनि सोही पार्टीमा लागे । पछि संघीय समाजवादी र मधेशी जनअधिकार फोरमबीच एकता भएर संघीय समाजवादी फोरम गठन भयो । पछिल्लो समय श्रेष्ठ सो पार्टीका हर्ताकर्ताजस्तै बनेका थिए ।

सात वर्षयता गठन भएका कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन । तर, एमाले र माओवादीको गठबन्धन हुँदै दुई पार्टीको एकता भएपछि दुई मन्त्रालय लिएर फोरम पनि सो सरकारमा सामेल भएको छ ।

फोरमलाई सरकारमा सहभागी गराएर नेकपाले दुई ठूला मधेशी पार्टीबीच फाटो ल्याउन सफल भएको छ । नेकपाले सुरुमा राजपालाई सरकारमा सहभागी गराएर दुई पार्टीबीचको सहकार्य टुटाउन खोजेको थियो ।

ओली नेतृत्वको केन्द्रीय सरकारमा सहभागी हुने विषयमा राजपा संयोजक ठाकुर सहमत देखिएका थिए । सोही सुइँको पाएर एक कदम अघि बढेर यादवले नेकपासँग दुईबुँदे सहमति गरेका थिए ।

त्यसैगरी यसअघि सञ्चार राज्यमन्त्री रहेका गोकुल बास्कोटालाई सरकारले सञ्चारमन्त्रीमा बढुवा गरिदिएको छ । ओली नेतृत्वको सरकारमा अब दुई जना उपप्रधानमन्त्री बनेका छन् । यसअघि रक्षामन्त्री रहनुभएका इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाइएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र शहरी विकासमन्त्री  इस्तियाक राइनले आज पद तथा गोपनीयताको शपथ लिएका छन्नु ।