जनतालाई निराश पार्ने बजेट: काँग्रेस सांसदहरु

जनतालाई निराश पार्ने बजेट: काँग्रेस सांसदहरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले जनतालाई निराश पार्ने बजेट आएको बताएका छन् । ‘ बजेटले सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्ता भरणपोषण गर्ने रणनीति लिएको छ’, ससदमा बोल्दै नेपाली कांग्रेसका पूर्वमन्त्री एवं सांसद मिनेन्द्र रिजालले ‘बजेटले निजी क्षेत्रलाई हतोत्साही बनाउने, सबै तहको बजेट मिसाएर हेर्दा महत्वकांक्षी र अन्तराष्ट्रिय लगानी निरुत्साही गर्ने खालको छ भनेका छन् ।’‘बजेटमा रेल र पानी जहाजका लागि थोरै बजेट छुट्याइएकोमा भने रिजालले अर्थमन्त्रीलाई धन्यवाद दिए ।

‘अर्थमन्त्रीले सीमाभित्र बसेर काम गर्नु भएको भए पनि प्रशंसा गर्नुपर्छ’, रिजालले भने, ‘व्यक्ति जति ठूलो पदमा भए पनि अहंकार र हठबाट आर्थिक उन्नति यात्रा सुरू हुन्न । मसिनो स्वरमा भए पनि अर्थमन्त्री त्यसका विरुद्ध उभिनु भएको छ । व्यक्तिको अहंकारबाट अर्थतन्त्रको यात्रा सुरू हुन सक्दैन सांसद रिजालको भनाई थियो ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्गाैला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार पत्रकार सम्मेलन गर्दै बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एक हदसम्म राहत पुग्ने उक्त कार्यक्रमलाई निरन्तरता नदिइनु मानवीय दृष्टिले पनि बिल्कुलै गलत रहेको बताउनुभएको थियो । दुर्गम गाउँमा बस्ने नेपालीको औसत आयु ७० वर्षभन्दा तल रहेको वास्तविकतालाई ध्यानमा राखी काँग्रेसको सरकारले ६५ वर्षमै वृद्धभत्ता दिन गरेको निर्णय बजेटमा समाहित नगरिएकामा उहाँले गम्भीर आपत्ति प्रकट गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्ष दल काँग्रेसले हिजो बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारको आर्थिक वर्ष २०७५÷७६ को बजेट सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको थियो । प्रवक्ता शर्माले भन्नुभयो, प्रमुख प्रतिपक्षी दलका नाताले मुलुकको समृद्धिका लागि रचनात्मक सहयोग गर्नु एकातर्फ हाम्रो कर्तव्य बन्दछ भने अर्कातर्फ बजेटमा रहेको अन्योल, विरोधाभाष र कमजोरी औँल्याउनु हाम्रो दायित्व हुन जान्छ ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयन भएर तुलनात्मकरुपले सहज राजनीतिक अवस्था मुलुकमा बनेको समयमा जुन इच्छाशक्ति, दूरदृष्टि र कार्यक्रम साथ बजेट आउनु पर्दथ्यो, त्यो नभएको काँग्रेसको ठहर छ ।

पार्टी प्रवक्ता शर्माले काँग्रेसले लिएको अर्थनीति गलत छ भनेर चुनावी मैदानमा भन्ने तर सरकारमा पुगेपछि केही ‘पपुलिष्ट’ कार्यक्रम गाँसेर त्यसैलाई पछ्याउने परम्परा रहदै आएकोमा यो बजेट काँग्रेसले लिएको नीति र कम्युनिष्ट पार्टीको परम्परागत शास्त्रीय दर्शनको दोबाटोमा अस्पष्ट र अन्योलग्रस्त भएर उभिएको टिप्पणी प्रवक्ता शर्माको थियो ।

श्वेतपत्रमार्फत मुलुकको अर्थतन्त्र धरासायी रहेको ठहर गरिएको उल्लेख गर्दै शर्माले भन्नुभयो – “आगामी वर्ष आठ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्यको प्रक्षेपणले श्वेतपत्रलाई खण्डित गर्दै अर्थतन्त्र भनिएझैँ धरासायी नरहेको पुष्टि हुन्छ ।” नेपाली काँग्रेसले शुरुआत गरेको मूल्य अभिवृद्धि कर, पूँजीगत लाभ करभन्दा भिन्न नवीन कार्यक्रमझँै कुनै दुरगामी भिजन बजेटमा छैन उहाले भन्नुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले भन्नुभयो, “कार्यक्रममा विरोधाभाष थुप्रै देखिएका छन् । उदाहरणका लागि निजगढ विमानस्थललाई लिन सकिन्छ । दुई कम्युनिस्ट पार्टीको चुनावी घोषणापत्रमा सो विमानस्थल पाँच वर्षमा पूरा गर्ने लक्ष्य लिइएको थियो । बजेटमा त्यो छैन । त्यो नहुनुको अर्थ द्रुतमार्गमा पनि असरको संकेत हो भने पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा स्वयं प्रश्न खडा गर्नु पनि हो ।”
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भरणपोषणको रणनीतिका आधारमा बजेट आएको आरोप लगाएको छ।