प्रदेश नं ५ मा बजेटको प्राथमिकता

प्रदेश नं ५ मा बजेटको प्राथमिकता

-भरत केसी –

बुटवल, १५ जेठ । सरकारले आज संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को बजेटले यस क्षेत्रमा महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । 

सरकारका तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा विश्वका बौद्धमार्गीको आस्थाको धरोहर बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि चार दशकअघि जापानी प्रोफेसर केन्जो टांगेले तयार परेको लुम्बिनी गुरु योजनालाई पूर्णता दिने घोषणासहित प्रदेश नं ५ का अन्य महत्वपूर्ण साना तथा ठूला आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेको घोषणा गर्नुभएको छ ।

यस्तै यस क्षेत्रमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगामी एक वर्षभित्र सञ्चालनमा ल्याइर्ने र प्रदेश ५ को अर्को विमानस्थल दाङमा निर्माण गर्नेसमेत घोषणा गरिएको छ । यस्तै बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा गर्ने र स्थायी प्रदर्शनीस्थलको निर्माण जस्ता महत्वपूर्ण परियोजनालाई अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको बजेट वक्तव्यमार्फत घोषणा गरिएको छ ।

यस्तै यस क्षेत्रमा ‘मृत्यु मार्ग’का रुपमा चिनिएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डमा सुरुङमार्ग निर्माण तथा अन्य वैकल्पिक मार्गको लागि सम्भाव्यता अध्ययन जस्ता योजनासमेत अगाडि बढाइने जनाइएको छ ।

यस्तै प्रदेश नं ५ मा महत्वपूर्ण योजनाको रुपमा कालीगण्डकी तिनाउ डाइभर्सन, प्युठान र अर्घाखाँचीको सीमा भएर बग्ने राप्ती नदी नौमुरे जलविद्युत् परियोजना, सिक्टा सिँचाइ परियोजनाजस्ता महत्वपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

बजेटमा प्रदेश नं ५ का लागि संघीय सरकारले करिब रु नौ अर्ब ६७ करोड सशर्त विभिन्न शीर्षक किटान गरेर तथा वित्तीय सामान्यीकरण शीर्षकमा करिब रु छ अर्ब ८७ करोड विनियोजन गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले राजस्व बाँडफाँड शीर्षकको करिब रु ११४ अर्बबाट प्रदेशका लागि पर्ने बजेट अनुमान हेर्दा संघीय सरकारले प्रदेश सरकारका लागि तोकेको करिब रु १५ अर्बको सिलिङ नजिकबाट प्रदेशका लागि बजेट विनियोजन भएको देखिने बताउनुहुन्छ ।

संघीय सरकारको बजेटमा यस क्षेत्रका लागि घोषणा गरेको आयोजनाहरुलाई निकै महत्व दिएको र बजेट समग्रमा महत्वकांक्षीभन्दा पनि संयमित र कार्यान्वयन पक्षलाई जोड दिएर आएको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल बताउनुहुन्छ । उहाँ बजेट वास्तविक धरातलमा टेकेर आएको बताउँदै यो सरकार बनेपछि निजी क्षेत्रमा देखिएको आशंका अब सकिएको र विश्वस्त हुने गरी बजेट आएको बताउनुहुन्छ ।

संघीय सरकारले ल्याएको बजेट आजै प्रारम्भिक रुपमा अध्ययन गर्दा विगतमा जस्तो वितरणमुखीभन्दा विकासमुखीको रुपमा देखिएकाले बजेट सन्तुलित रुपले आएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल बताउनुहुन्छ ।उहाँले बजेटले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन आधुनिकीकरण र प्रविधिको विकास गर्ने घोषणा गर्नु राम्रो भए पनि अब बजेटको समग्र कार्यान्वयन पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउनुहुन्छ ।

निजी क्षेत्रको उद्योगीको संस्था रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी संघीय सरकारको बजेटलाई यथार्थपरक रुपमा आएको हो कि जस्तो देखिएको बताउनुहुन्छ । उहाँले सरकारले वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको जस्तो देखिएपनि कार्यान्वयन पक्षमा सरकारको ध्यान जानु जरुरी रहेको बताउनुहुन्छ ।

सहकारी क्षेत्रका विज्ञ डा खगराज शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक रुपमा आएको र यसले कृषि उत्पादन प्रवद्र्धन, सहकारी प्रवद्र्धन, उपभोक्ता सहकारीमार्फत सामान्य नागरिकको उपभोक्ता हकको सुनिश्चित गर्नेलगायत साना तथा लघु र महिला उद्योगलाई प्रोत्साहन गर्ने गरी बजेट आएकाले सकारात्मक रुपमा लिन सकिने बताउनुहुन्छ ।