मनाङका जनतामा परम्परादेखि नै कम्युनिष्ट प्रति वितृष्णा छ : गुरुङ

मनाङका जनतामा परम्परादेखि नै कम्युनिष्ट प्रति वितृष्णा छ : गुरुङ

काठमाडौँ, २७ कार्तिक । बिसं २०११ मंसीर ११ गते मनाङको तत्कालीन टंकी मनाङ गाविस वडा नं ३ मा जन्मेका टेकबहादुर गुरुङले २०३६ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका हुन् । उनको बुबाको नाम काजी गुरुङ र आमाको नाम पुलामा गुरुङ हो । दुई छोरा दुई छोरीका पिता गुरुङ होटल व्यवसाय तथा पर्यटन व्यवसायमा संलग्न छन् ।
गुरुङले बीपी कोइरालाको हातबाट कांग्रेसको सदस्यता लिएर राजनीति सुरु गरेका हुन् । मनाङ मस्र्याङ्दी क्लबको संस्थापक तथा ९ वर्ष त्यसको अध्यक्ष भएका गुरुङले झुमा नामक चलचित्र पनि बनाएका छन् । नेपाली कांग्रेसका विकासप्रेमी नेताको रुपमा परिचित उनै टेक बहादुर गुरुङ अहिले प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वारको रुपमा हिमाली जिल्लाको रुपमा चिनिने मनाङमा चुनावी मैदानमा छन् । समाजसेवी विकास प्रेमी नेताको रुपमा परिचित नेता गुरुङ पर्यटनको विकास र उर्जालाई मुख्य एजेण्डा बनाएर मनाङमा अहिले घरदैलो गरिरहेका छन् । उनै गुरुङसंग हरेकपलले गरेको संक्षिप्त सम्वाद ।

मनाङमा चुनाव जित्ने आधार के छ तपाईको ? 
खास गरि मनाङ जिल्ला पर्यटकीय रुपमा धनि जिल्ला हो । मनाङलाई टुरिजम जिल्ला घोषणा गर्ने गरि हामी अगाडी बढेका छौँ ।
यहाँ १८५० मेघावाटको जलविद्युत योजना समेत निर्माणधीन अवस्थामा रहेको र त्यसलाई अबको ५ बर्ष भित्र उत्पादनमा ल्याएर उर्जाको क्षेत्रमा फड्को मार्ने र यहाँ पर्यटनको विकास गर्दै पर्यटनबाटै रोजगार र यहाँका बासीन्दालाई जीविकोपार्जन गर्न सक्ने बनाउने आधारको शुरुवात हामील गरेका छौँ । म आफै पनि पर्यटन व्यवसायी भएकाले यस क्षेत्रलाई कसरी पर्यटनको आधार जिल्ला बनाउन सकिन्छ भन्ने गुरुयोजना म संग छ । त्यसलाई कार्यान्वयन कसरी गराउन सकिन्छ भन्ने पनि मलाई थाहा छ । केहि कुराहरु शुरुवात भएका छन् । त्यसलाई पूर्णता दिँदै यहाँका बासिन्दालाई आत्मनिर्भर बनाउने अभियान नै मेरो जितको आधार हो ।

अहिले कम्युनिष्ट गठबन्धनको जुन प्रकारको हल्ला छ त्यसले लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानलाई कुनै अप्ठ्यारो पर्या छ कि छैन ? 
कम्युनिष्टहरुको प्रभाव यहाँ शुन्य जस्तै छ । अन्य तर्फ के छ मलाई थाहा भएन तर मनाङमा खासगरी परम्परादेखि नै कम्युनिजम प्रति यहाँका जनतामा वितृष्णा छ । त्यो वितृष्ण अहिले झनै बढेको छ । अहिले कम्युनिष्ट गठबन्धनबाट भनिएका एमालेको उम्मेद्वार पनि केहि समय अघि सम्म राप्रपामै थिए । राप्रपामा बस्न नसकेपछि उता गएको भन्ने कुरो छ तर यहाँ राप्रपा र कांग्रेस दुवै मिलेर हामी चुनावी अभियानमा छौँ । त्यसैले यहाँ अरुतिर भनिएजस्तो कम्युनिष्टको कुनै प्रभाव यहाँ देखिएको छैन ।

के छन् तपाईका चुनावी एजेण्डा ?
अहिले जनतालाई चाहिएको भनेकै प्रमुख रुपमा विकास नै हो । हामीले अहिले विभिन्न गाउँ गाउँमा ट्रयाक खोल्ने काम गरेका छौँ र अबको कार्यकाल भनेको ती सबै ठाउँमा कालो पत्रे गर्ने नै हो । नेपाली कांग्रेसले त्यसलाई ध्यान दिइरहेको छ । सबैलाई कम्तिमा आधारभूत सुविधा दिने काममा हामी लागिपरेका छौँ । अरु भन्दा हामी कृयासिल छौँ । यहाँ कृषककालागि कृषि सडकको विकास गर्ने र पर्यटनलाई प्रमुख रुपमा अगाडी बढाउने अभियानमा हामी छौँ ।

मेरो मूल एजेण्डा भनेकै मनाङदेखि बेसिसहर सम्मको सडक तत्काल कालोपत्रे गराउने, पर्यटकलाई मनाङसम्म आकर्षित गर्न आवश्यक पूर्वाधार खडा गर्ने अभियान नै मेरो मुख्य एजेण्डा हुन् । आम्दानीको मुख्य आधार नै पर्यटनलाई बनाउन म लागिरहेको छु ।