काठमाडौं, १५ जेठ । अन्ततः द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेललाई जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसर पारी सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल आज बिहान छुटेका हुन् ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेल जेल परेका हुन् । द्वन्द्वकालमै ७ वर्ष जेल परेका ढुंगेल शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै लामो समयसम्म फरार भएका थिए । गत कात्तिक १४ गते तत्कालिन सरकारले ढुंगेललाई ललितपुरबाट पक्राउ गरिएको थियो ।
ढुंगेललाई स्वागत गर्न आज बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । यता, ढुंगेललाई माफी दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत माफी पाएका छन् ।
प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन छ । यसअघि राजतन्त्रको पालामा पनि कैदी बन्दी रिहा गर्ने गरिएकाे थियाे ।