कसैले गेट आउट भन्दैमा म आउट हुन्नः देउवा

कसैले गेट आउट भन्दैमा म आउट हुन्नः देउवा

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विधान वमोजिम तोकिएको अवधिसम्मै रहने बताएका छन्। देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पारेका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पारे ।

नेपाल प्रेस युनियनको २७औं स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दे सभापति देउवाले भने, ‘कसैले गेट आउट भन्दैमा म गेट आउट हुन्न। तीन वर्षपछि विधिवत रुपमा पार्टीको १४औँ महाधिवेशन मार्फत नेतृत्व चयन हुन्छ।’

निर्वाचनको समिक्षा गर्नेक्रममा कतिपय असन्तुष्ट केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकमा र कतिपयले बाहिर सार्वजनिक कार्यक्रममार्फत चुनावको पराजय नेतृत्वको असक्षमताले भएको आरोप लगाउँदै विशेष महाधिवेशन र नेतृत्व चयनबारे आवाज उठाइरहेका छन्।

तर, त्यसरी आवाज उठाइरहेकाप्रति लक्षित गर्दै सभापति देउवाले भने, ‘चुनावमा अहिलेमात्रै पार्टीले हारेको होइन, विगतमा पनि हार भएको थियो। एउटा निर्वाचन हार्दैमा आत्तिनु पर्ने कुरै हुँदैन।’

आफ्नो चाहना र स्वार्थ पार्टीलाई एकढिक्का बनाएर मुलुकको बलियो लोकतान्त्रिक शक्ति बनाउने रहेको बताउँदै उनले भने, ‘म पनि प्रजातन्त्रकै लागि मरेर बाँचेको व्यक्ति हुँ।’

पार्टीभित्र देखिएको मतभेदप्रति लक्षित गर्दै उनले भने, ‘एमाले र माओवादी त एक हुन र मिल्न सक्छन् भने हामी किन मिल्नु हुँदैन ?
उनले लोकतन्त्रवीना प्रेस स्वतन्त्रताको ज्ञारेन्टी नहुने बताउँदै लोकतन्त्र र प्रेसमाथि हुन सक्ने कुनै पनि अंकुशको विरुद्धमा एकभएर लाग्न सबैसँग अनुरोध गरे।

रामचन्द्र पौडेलले पार्टीभित्र पारदर्शिता र कार्यकर्ताको उचित मूल्यांकन पद्धती कायम भएमा एकताको विषयमा कुनै समस्या नभएको बताए।

नेपालको राजनीतिमा कम्युनिष्टहरु नै कांग्रेसको प्रतिस्पर्धी भएको बताउँदै पार्टीको सिद्धान्तले विजय हाँसिल गरेपनि पार्टी संगठन पराजित हुनुमा नेतृत्व र संगठनको कमजोरी रहेको उनले दाबी गरे।

कम्युनिष्ट पार्टीलाई ठगहरुको संज्ञा दिँदै उनीहरुले जनतामाझ आफूहरु कम्युनिष्ट भएको भन्दै मत माग्ने र विदेशी दातासामू सोसियल डेमोक्रेट्स हौँ भन्दै सहयोग माग्ने गरिरहेको आरोप पौडेलले लगाए।

सिद्धान्तको टुंगो नभएका कम्युनिष्टहरुले शासन संचालन गर्न नसक्ने दाबी गर्दै त्यसैको उदाहरणका रुपमा वर्तमान सरकारका सयदिनका गतिविधिहरुलाई लिन सकिने बताए।

कम्युनिष्टहरुले सत्तामा पुग्नका लागि मजदूरहरुको कुरासँगै प्रेस स्वतन्त्रताको कुरा गरेपनि सत्तामा पुगेपछि ट्रेड युनियन अधिकारसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने गरेको भन्दै त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरे।

सरकारले सांसद विकास कोषको नाम बदलेर राज्य कोषको रकम बाँड्न लागेको भन्दै त्यसको विरोध गरे। उनले संघीयताको सहि मान्यता अनुसार राज्यले विकास निर्माणको बजेट सांसदको नाममा नभएर प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउन माग गरे।

उपसभापति विमलेन्द्र निधि कांग्रेस सधैँ नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै अहिले प्रजातन्त्रमाथिको खतरा रहेको अवस्थामा प्रेसले अहंम भूमिका निर्वाह गर्न सुझाव दिए।

लोकतान्त्रिक शासन व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी यी राज्यका तीन अंगहरु स्वतन्त्र ढंगले सञ्चालित भएको बेला प्रेसलाई चौथो अंग मानिने भएपनि अहिले यी तीनवटै अंगलाई एउटै शासकले कब्जा गरेको अवस्था रहेको निधिले बताए।

उनले यी तीनवटै अंगहरुलाई एउटै शासकले कब्जा गरेको अवस्थामा राज्यको चौथो अंग नभएर पहिलो स्ट्राइकरका रुपमा सक्रिय भएर काम गर्न र मुलुकको प्रजातन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्न लागि पर्नु पर्नेमा जोड दिए।

सरकारको सयदिनकाबारेमा प्रतिक्रिया दिँदै उनले सरकारले यो अवधिमा संविधानको कार्यान्वयन मार्फत संघीयता, गणतन्त्र र समावेशीताको संस्थागत विकास गर्न भन्दा पनि पार्टी एकता, चीन र भारतको चाकडी तथा आत्मकेन्द्रीत प्रशंसामा खर्चिको कारण सयदिनको समयमा मुलुक र जनताले कुनै उपलब्धी हाँसिल गर्न नसकेको बताए।

महामन्त्री शशांक कोइरालाले मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी अहिलेको निर्वाचनपछि दोस्रो स्थानमा खुम्चिएको बताउन्दै पार्टीभित्र आपसमा मिल्नै नसक्ने गरी मतभेद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। आफ्नो उद्देश्य पार्टीभित्र एकताबद्ध बनाएर अघि बढ्ने रहेको बताउँदै उनले आपसमा के कुराले मतभेद चर्काएको छ भनि प्रश्न गरे।

उलने सबैलाई एकजुट भएर महाधिवेशन मार्फत सबल र सक्षम नेतृत्व चयन गर्न र संगठनलाई बलियो बनाउने दिशामा केन्द्रित हुन पनि आग्रह गरे। कार्यक्रममा नेता मीनेन्द्रप्रसाद रिजालले सरकार रब्सपीएरको बाटोमा हिड्न थालेको बताउँदै त्यसलाई खबरदारी गर्न कांग्रेस र प्रेस जगत एकजुट भएर अघि बढ्नु पर्ने बताए।