साप्ताहिक राशिफल: जेठ १३ गतेदेखि १९ गतेसम्मकाे भाग्यादेश हेर्नुहाेस्

साप्ताहिक राशिफल: जेठ १३ गतेदेखि १९ गतेसम्मकाे भाग्यादेश हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) याे साताकाे भाग्यादेश

सातौं भावमा रहेको चन्द्रमाका साथमा सुरु भएको यस सातामा तपाईंको समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । तर सोमबारदेखि बुधवारसम्म अष्टम भावमा चन्द्रमा रहने हुँदा झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । उक्त अवधिमा यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । रोगव्याधि र चोटपटकबाट समेत जोगिने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) याे साताकाे भाग्यादेश

मिश्रित प्रभाव रहने साता छ, त्यसैले वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । सुरुमा तपाईंको राशिबाट छैटौं भावमा चन्द्रमा रहनेछ, प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । साताको उत्तरार्द्धमा चन्द्रमा आठौं भावमा पुग्ने भएकाले खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, सानो लापरवाहीले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । तर सोमवारदेखि बुधवारसम्म हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । उता साताको अन्त्यमा धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) याे साताकाे भाग्यादेश

साताको प्रारम्भमा सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सोमबारदेखि वुधवारसम्म अनुकूल समय रहने छैन, मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । साताको उत्तरार्द्ध अनुकूल देखिन्छ, कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । तर आगामी शनिवारका दिन ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) याे साताकाे भाग्यादेश

घरपरिवारका लागि यस साताको अधिकतम समय खर्च हुनेछ । आर्थिक पक्ष पनि कमजोर देखिन्छ, खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । तर सोमबारपछि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । बिहीबार र शुक्रवार स्वास्थ्यमा समस्या देखिन सक्छ, विवाद र झैझगडाबाट फाइदा हुने सम्भावना छैन । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । तर शनिवारका दिन प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) याे साताकाे भाग्यादेश

प्रारम्भमा पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । सोमबारदेखि बुधवारसम्म घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्ने समय हो । सामाजिक मर्यादामा आँच आउन सक्छ । इष्टमित्र र घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । उता परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । बिहीबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । तर शनिवारका दिन छैटौं भावमा चन्द्रमा रहने भएकाले गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) याे साताकाे भाग्यादेश

धनधान्य र भौतिक सम्पत्ति जुट्ने समय छ । यस सातामा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । तर बिहीवार र शुक्रवारका दिन प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । परिवारमा मतभेद हुनसक्ने समय रहने छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) याे साताकाे भाग्यादेश

आफ्नै राशिबाट प्रारम्भ भएको यो साता तपाईंका लागि अत्यन्त अनुकूल रहने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपाईंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्श्निक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर आगामी शनिवार गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) याे साताकाे भाग्यादेश

आर्थिक रूपमा कमजोर समय रहने छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । मनमा विरक्तिको भाव बहन सक्छ । तर सोमबारका दिन राशिमा चन्द्रमा आइपुग्नाले त्यसपछि आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । बिहीबारपछि आर्थिक क्षेत्र सबल बन्नेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । सुरुमा केही नकारात्मक देखिए पनि समग्रमा जिम्मेबारी वहन गर्नु पर्ने समय रहने छ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपाईंले भने जसरी नै काम सम्पन्न हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) याे साताकाे भाग्यादेश

प्रारम्भमा राज्यस्थानमा रहेको चन्द्रमाको प्रभावले सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । साताको उत्तरार्द्धमा नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । पढाइलेखाइ र ज्ञानगुनका क्षेत्रमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । तर सोमवारदेखि बुधवारसम्म बाह्रौं भावमा चन्द्रमा रहने हुँदा सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुने खतरा छ, सचेत हुनुपर्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, तर त्यसबाट सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नसक्छ, सचेत हुनुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) याे साताकाे भाग्यादेश

कर्मप्रति वफादार र लगनशील भएर अघि बढ्दा हाकेका ताकेका काममा सफल हुने साता छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आर्थिक रूपमा सबल बन्नुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, तर यस सप्ताहको उत्तरार्द्धमा मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । खासगरी बिहीवार र शुक्रवारका दिन यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । अतः उक्त अवधिमा चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) याे साताकाे भाग्यादेश

भाग्यभावमा रहेको चन्द्रमाका साथमा साताको सुरुवात भएकाले यो साता कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि समेत प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । तर आगामी शनिवारका दिन बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग समेत छ । साताको अन्तिम दिन बाहेक समग्रमा यो समय विशेष महत्वको समय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) याे साताकाे भाग्यादेश

प्रतिकूल समय रहने छ, साताको प्रारम्भमा नै आठौं भावमा चन्द्रमाको उपस्थिति भएकाले यो साता सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । सामान्यतया प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपान प्रति सतर्कता अपनाउनु पर्छ । सोमबार भाग्यमा चन्द्रमाको प्रवेश हुनेछ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । साताको उत्तरार्द्धमा आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । शनिवारका दिन कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ ।

-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौँ ।