आइपिएल : फाइनलमा पुग्यो हैदरावाद, चम्किए रसिद खान

आइपिएल : फाइनलमा पुग्यो हैदरावाद, चम्किए रसिद खान

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो बेलुका भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो । अब आइतबर हुने फाइनलमा उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

हिजो  बेलुका कोलकातामा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । उसका लागि क्रिस लिनले ४८, शुभमन गिलले ३०, सुनिल नरिनले २६ तथा नितिश रानाले २२ रन बनाए पनि टीमलाई जिताउन सकेनन् ।

हैदरावादलाई जिताउन रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ १० बलमा ४ छक्का र २ चौकासहित ३४ रन बनाए भने बलिङतर्फ उनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका रसिदले १९ रन दिँदै तीन विकेट लिए र फिल्डिङतर्फ पनि दुई क्याच लिएका थिए । खेलको म्यान अफ दि म्याचसमेत बनेका रसिदले कोलकाताविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

रसिदले जारी आईपीएलमा १६ खेलमा २१ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलव ७८ रहेको छ । सनराइजर्सका बलर सिद्धार्थ कौलले पनि १६ खेलमा २१ विकेट लिएका छन् । कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

हैदरावादका लागि ऋद्धिमान शाहले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो ।

कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे । कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २-२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे । प्रतियोगिताको उपाधिका लागि हैदरावादले भोलि चेन्नई सुपर किङ्को सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदरावादलाई नै हराएको थियो ।