राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल

राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कस्लाई मत दिने ? अझै खुलेका छैनन् । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसदमा रहेका तीनवटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् ।

यसरी खुल्न नसकेका संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुुर किसान पार्टी (नेमकिपा) रहेका छन भने प्रदेश संसदमा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले भोली ११ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले फागुन २५ गते बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई उठाएको छ ।

आचारसंहिताले खुल्न नपाईने: 

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेवाट नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाईने छैन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भईसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

‘गत फागुन १७ गतेबाट नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु भईसकेको अवस्था छ, आचारसंहिता लागु भईसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ । आचारसंहिता लागु भएकाले प्रचार गर्न पाउँदैनन्, यसमा रोक लागिसकेको अवस्था छ ।’ उनका अनुसार अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गर्नेछ ।