काठमाडौ । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूले गत बुधवार सार्वजनिक गरेको सम्पति विवरणले धेरैलाई आश्चर्यमा पारेको छ । सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भनि दावी गर्दै आएका विघटित माओवादीका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण हेर्दा सामन्ति सस्कारको चरम रुप देखिएको फेसवुकहरुमा टिप्पणी आएको छ ।
१८ मन्त्रीले पेश गरेको विवरणमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब देखिएकी छन् भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको सम्पति विवरणलाई भने धेरैले स्वभाविक भनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा श्रीमतिले दाईजोमा ल्याएको सम्पति देखाउन मिल्ने गरी अधिकांशले सुन देखाएका छन् । कम्युनिष्ट पार्टीभित्र आदर्श व्यक्तिका रुपमा हेरिएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको सम्पति विवरण हेर्दा कहाली लाग्दो देखिएको छ भने गृहमन्त्री रामबहादुर थापाले सम्पति विवरणमा दुई वटा कुकुर पनि देखाएका छन् । उनले ति कुकुर कतिमा खरिद गरेका हुन् त्यो उल्लेख नगरेर छिमेकीले उपहार दिएको विवरण पेश गरेका छन् । त्यस्तै मन्त्री रघुवीर महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको देखाईएको छ ।
उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ ।
त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ । उनी ओली मन्त्री परिषदमा सबैभन्दा धनी देखिएका छन् ।
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको विवरण छ भने गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।
पर्यटनमन्त्रीसँग ६० तोला सुन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका सुनमा धनी मन्त्री हुन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ । पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भने आफूसँग बैंकमा १४ लाख ९६ हजार मौज्दात रहेको र १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर रहेको विवरण दिएका छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगरमा एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको विवरण दिदै उनीसँग १० तोला सुन र १५ तोला चाँदी रहेको बताएका छन् । चुनाव प्रचारको साधन साईकल बनाएका मन्त्री पण्डितले श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात रहेको बताएका छन् ।
सरकारको तेस्रो वरियतामा रहेका गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।
उर्जामन्त्रीसँग १५ तोला सुन
उर्जामन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन र आधा किलो चाँदी रहेको विवरणमा उल्लेख छ । माओवादीभित्र उनलाई नव धनाध्य व्यक्तिका रुपमा चित्रण गर्ने गरिएको थियो । सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।
अभिव्यक्ति र व्यावहारमा पनि सर्वहाराझै देखिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसँग आश्चर्य लाग्दो सम्पति देखिएको छ । न्युन मध्यम वर्गका मातृकाले युद्धकालमा आफ्नो सम्पति पार्टीलाई बुझाएको भनिएको थियो । तर उनले सिरहा र धनुषामा १ र १ वटा घर रहेको, रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ । उनले पेश गरेको सम्पति विवरणको स्रोत के हो कतै उल्लेख छैन ।
परराष्ट्रमन्त्री ज्ञवालीको २५ सय किताब
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्पति विवरणमा करिब २५ सय पुस्तक रहेको उल्लेख गर्दै काठमाडौंमा दुईतले पक्की घर, २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो विवरणमा खुलाएका छन् । विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
रक्षामन्त्री इश्वर पोखरेलले भने काठमाडौंको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा केही जग्गा रहेको उल्लेख गरेका छन् । उनीले आफूसँग ८ तोला सुन र २२ तोला चाँदी रहेको विवरण दिएका छन् । आफू र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात रहेको र बैंक, जलविद्युत र कलेजमा गरी १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्तिका नाममा खोटाङमा एउटा घर र तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात देखाएका छन् ।
अर्थमन्त्रीको दुई वटा घर
राष्ट्र बैंकका पूर्व गभर्नर एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भने स्वभाविक सम्पति विवरण पेश गरेका छन् । उनीसँग ९ लाख ६० हजार बराबरको कार रहेको, श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ विभिन्न ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । खतिवडासँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी रहेको विवरणमा छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको विवरण दिएका छन् ।
त्यस्तै वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर, १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।
खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात रहेको विवरण दिएका छन् । कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर, ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको नाममा एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा देखिएको छ ।
-तरुणखबरबाट