सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए । मतदानमा ५२ जना सांसद सहभागी भएका थिए । त्यसमध्ये शाहले ४१ मत पाए । उनको विपक्षमा ११ मत पर्‍यो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे । शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन् । एमालेका १० सांसद र राप्रपाका सांसदहरूले शाहलाई मत दिएनन् ।

यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।