प्रदेश १ को नाम ‘कोसी’ कायम, दुई तिहाइ बहुमतले पारित

प्रदेश १ को नाम ‘कोसी’ कायम, दुई तिहाइ बहुमतले पारित

विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ । प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए । कोसीको पक्षमा कांग्रेस र एमालेसमेत एकमत थिए ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रदेश सभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ ख १ बमोजिम प्रस्ताव आह्वान गरेको थियो ।

सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो । मुख्यमन्त्री हिक्मत कार्की प्रदेशको नामाकरण गर्न सफल भएका छन् । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र एसका राजेन्द्र राई मुख्यमन्त्री हुँदा नामाकरण गर्न सकेका थिएनन् ।

‘प्रदेशले आफ्नो नामकरण प्रदेश सभाबाट आफैंले गर्नुपर्नै दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारका रूपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको थियो ।