

वरिष्ठ कलाकार एवं सञ्चारउद्यमी नीर शाहले नेपालका कम्युनिष्ट पार्टीहरू दरबारको पालनपोषणमा हुर्किएको बताएका छन् । पहिले खासै अस्तित्वमा नरहेका कम्युनिष्टहरूलाई राजा महेन्द्रले ०१७ सालपछि मलजल गरेर कांग्रेसविरुद्ध प्रयोग गरेको उनको भनाइ छ ।
पूर्वराजदरबारसँग नातासमेत जोडिएका शाहले पूर्वराजा महेन्द्रलाई अपराधीको संज्ञा दिन पनि पछि परेनन् । महेन्द्रकै अदूरदर्षिताका कारण अहिले मुलुक कम्युनिष्ट अतिवादतर्फ उन्मुख भएको उनको भनाइको आशय थियो । केही वर्षयता नेपाली कांग्रेसमा सक्रिय भएर लागेका शाहले नेपाली कांग्रेस क्षेत्र नं ५ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महतको चुनावी प्रचारमा व्यस्त शाह आफैँ पनि सो क्षेत्रबाट समानुपातिक सांसदमा सिफारिस भएका थिए । मुलुकमा लोकतन्त्र पक्षधरहरूको जित हुनुपर्नेमा उनको जोड थियो ।
‘लोकतन्त्र बचाउनका लागि कांग्रेसको जित आवश्यक छ,’ शाहले भने, ‘२०१७ सालमा महेन्द्रले कांग्रेसलाई अपदस्त गरेर कम्युनिष्टहरूलाई च्यापे, अहिले तिनै कम्युनिष्टहरू अधिनायकवादी व्यवस्थाको पक्षमा लागेका छन् ।
शाह काठमाडौं क्षेत्र नं. ५ का स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसको चुनावी प्रचारमा उनको उपस्थितिले कांग्रेस कार्यकर्तामा छुट्टै उत्साह थपिएको कांग्रेसका एक स्थानीय कार्यकर्ताले बताए । कांग्रेस नेता डा. प्रकाशशरण महत सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।
यसअघि सो क्षेत्रबाट नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा लगातार दुईपटकसम्म विजय हासिल गर्न सफल भएको थियो । अब तेस्रोपटक पनि कांग्रेसले नै जित्नेमा आफू आशावादी रहेको शाहको भनाइ थियो ।
नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रका उम्मेदवार डा. प्रकाशशरण महतले आफू सो क्षेत्रबाट निर्वाचित हुनेमा ढुक्क रहेको बताए । आफू कक्षा ६ मा पढ्दादेखि नै सोही क्षेत्रमा हुर्किएकाले त्यहाँको समस्यासँग आफू परिचित रहेको र त्यसको समाधानका बाटाहरू पनि पहिल्याइसकेको उनको दाबी थियो । आर्थिक समृद्धिको पहुँचमा जनतालाई पुर्याउनका लागि पनि कांग्रेस कटिबद्ध रहेको उनको जोड थियो ।
‘जनताको स्वतन्त्रता, मानवअधिकार र विधिको शासनमा पनि कांग्रेस विश्वास गर्छ,’ महतले भने, ‘अहिले कांग्रेसले उठाएका एजेन्डालाई सही किसिमले प्रस्तुत गर्ने, त्यही किसिमका कानुन निर्माण र व्यवस्थापन गर्ने क्षमता मैले राखेको छु ।’