

राष्ट्रपति चुनावका विषयमा छलफल गर्न बसेको तीन दलको बैठक ठोस निष्कर्षिवना सकिएको छ । भोलि कांग्रेससँग बसेर थप छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आज छलफलमा जुटेका थिए । बैठकपछि नेकपा एसका नेता प्रकाश ज्वालाले राष्ट्रिय सहमतिका आधारमा माधव नेपाललाई राष्ट्रपति बनाउन आफ्नो पार्टीले प्रस्ताव राखेको बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच भोलि बिहान बालुवाटारमा बैठक बस्दैछ । कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिनेबारे निर्णय हुने बताइएकाे छ ।
कांग्रेस महामन्त्री गगन थापाकाअनुसार भोलि बालुवाटारमा बस्ने बैठक निर्णायक हुने छ । कांग्रेस नेताहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार राति भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने मौखिक सहमति भएको बुझिएको छ ।