काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिसिएर बनेकाे नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन आयोगमा दर्ता प्रक्रिया अन्यौलमा पर्ने भएको छ । केन्द्रीय समितिमा एक तिहाइ महिला बनाउन नसक्दा दल दर्ता अन्यौलमा परेको हो । नेकपाले मंगलबार ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ ।
तीमध्ये ७७ जनामात्र महिला छन् । यो संख्या एकतिहाइको आधामात्र हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ । पार्टीको केन्द्रीय समितिमा एक तिहाइ महिला नपुगेकोमा महिला नेतृहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेकपालाई दल दर्ताका लागि १ सय ४७ जना महिला केन्द्रीय सदस्य आवश्यक हुन्छ । नेकपाले अब ७० महिला केन्द्रीय सदस्य बनाउनु पर्नेछ । त्यसका लागि अहिले मनोनयनमा परेका ७० पुरूष केन्द्रीय सदस्य बाहिरिनुपर्छ । पुरूषलाई नहटाएर महिला थप गर्दा नेकपाको केन्द्रीय समिति थप ठूलो हुन्छ । नेकपाले केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाए पनि निर्वाचन आयोगमा भने अहिलेसम्म बुझाइसकेको छैन ।
केन्द्रीय सदस्य बिन्दा पाण्डेले नेकपा दर्ता हुँदा उक्त विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ‘राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ को दफा १५ को ४ अनुसार दल दर्ता गर्दा दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ । नेकपा दर्ता हुदा यो लागु हुनुपर्छ की पर्दैन निर्वाचन आयोगले ध्यान दिने नै छ ।’