नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

रत्ननगर, चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ९:३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ। उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो।

सबै चट्टान फोरेर हटाउन नसक्दा आज दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए।

बिहानैदेखि रोकिएका मोटरसाइकल र साना सवारीहरु अहिले गन्तव्यतर्फ पठाईएको छ । ठुला गाडी छिर्न अझै केही ढुंगा पन्छाउनुपर्ने भएकाले रातिदेखि मात्रै सकिने आयोजनाले जनाएको छ।

सार्वजनिक सूचना जारी गरेर आज विहान १० देखि ५ बजेसम्म सडक बन्द गरी चट्टान हटाउने कार्य गरिएको आयोजनाले जनाएको थियो।

निर्धारित समयमा काम नसकिंदा सडकको दुईतर्फ नै विहानदेखि रोकिएका सयौँ सवारी तथा यात्रुहरु दिनभर प्रभावित भएका थिए। यात्रुहरुको समस्यालाई ध्यान दिंदै अहिले रातिदेखि एकतर्फी सडक खुलाईएको आयोजनाले जनाएको छ।

दिनभरको प्रयासमा आज अपरान्ह ४:४५ बजे ढुंगालाई भित्ताबाट बल्ल सडकमा झारिएको थियो। त्यसपछि फुटाएर ढुंगो हटाउने काम शुरु गरिएपनि अझै सकिएको छैन।

आइतबारदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइनेछ।

आइतवारदेखि एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि ८:३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

उक्त सडकको ३६ किलोमिटर क्षेत्रमा तीन व्लक छुट्याएर सडक चौडा पार्ने काम जारी छ। रासस