काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ‘एक घर एक तरुण’ अभियान सुरु गरेको छ । मुलुकमा कम्युनिस्ट अधिनायकवादको खतरा महसुस गरिएको अवस्थामा तरुण दलले निकै ठूलो जोडघाटाउ गरेरै ‘एक घर एक तरुण’ को अभियान सुरु गरेको हो ।
दलका अध्यक्ष जीतजंग बस्नेतले ‘एक घर एक तरुण’ अभियानले नेपाली कांग्रेसभित्र गुट उपगुटकाे राजनीति अन्त्य गर्न निकै सहयोग पुग्ने अपेक्षा राखेकाे बताएका छन् । उनले भने – ‘हाम्रो अभियान कांग्रेसको अभियान, जनताको चाहना कांग्रेसको भावनालाई महाअभियानका रुपमा संचालन गर्नेछौं ।’ जनतासँग प्रस्तुत हुँदा गरिने व्यवहारलाई दैनिकी बनाईने पनि अध्यक्ष बस्नेतले बताए ।
यस अभियानअन्तर्गत तरुण दल केन्द्रीय समितिले जेठ ५ गते देशका ७७ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको उपाध्यक्ष उत्तम चापागाईले बताएका छन् । निर्देशनअनुसार ६८ जिल्लामा सम्पन्न भइसकेको र बाँकी नौ जिल्लामा एक साताभित्र सम्पन्न भइसक्ने उनले बताए । यसैगरी, जेठ १२ गते देशका ७५३ वटै पालिकामा र १९ गते सबै वडामा भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय तरुण दलले गरेको छ ।
प्रदेशस्तरीय प्रशिक्षण तथा जिल्ला अध्यक्षहरूको भेला भने यसअघि नै सम्पन्न भइसकेको छ । चैत २५ र २६ गते प्रदेश १ को झापामा भएको प्रशिक्षणमा नेता कृष्णप्रसाद सिटौलालाई प्रमुख अतिथि बनाइएको थियो । २९ र ३० गते प्रदेश २ को पर्सामा आयोजित प्रशिक्षणमा महामन्त्री डा. शशांक कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो । यसैगरी, वैशाख ३ र ४ गते प्रदेश ३ को हेटौंडामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाइएको थियो । पार्टी सभापति देउवाको निर्देशनमै तरुण दलको अभियान सञ्चालन भएको हो ।
वैशाख ६ र ७ गते कुश्मामा आयोजना गरिएको प्रदेश ४ को प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाइएको थियो । ९ र १० गते प्रदेश ५ को रूपन्देहीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँणलाई बनाइएको थियो । १२ र १३ गते कैलालीमा आयोजना गरिएको प्रदेश ७ को प्रशिक्षण कार्यक्रममा पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई प्रमुख अतिथिको रूपमा बोलाइए पनि प्लेन क्यान्सिल भएकाले निधि पुग्न सम्भव भएन । नेता खाँणले नै कार्यक्रमको उद्घाटन गरेका थिए । ३० र ३१ गते प्रदेश २ को सुर्खेतमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ नेता पौडेललाई बनाइएको थियो ।
यसैगरी, फागुन २२ देखि २४ गतेसम्म जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षको सम्म्ेलन तथा प्रशिक्षण नगरकोटमा सम्पन्न भएको थियो । चैत १२ गते उपसभापति उत्तम चापागाईको संयोजकत्वमा काठमाडौंमा पूर्वअध्यक्ष तथा पदाधिकारीहरूसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।