कम्युनिष्ट शासन अाए जनताको दैनिकी त्रासदीपूर्ण हुन्छ : प्रधानमन्त्री

कम्युनिष्ट शासन अाए जनताको दैनिकी त्रासदीपूर्ण हुन्छ : प्रधानमन्त्री

ताप्लेजुङ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाउनुभएको छ ।

ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गर्नुभएका देउवाले आज सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै कम्युनिष्ट गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने छ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– “जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरुको रोजाइमा पर्दैन, यसैले पनि काँग्रेसको जित सुनिश्चित छ ।”

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यस पटक काँग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले पनि आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

ताप्लेजुङबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दाहाल र प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफूहरुले जित हासिल गर्ने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नुअघि दिउँसो पाथीभरा मन्दिरको दर्शनसमेत गर्नुभएको थियो । रासस