काठमाडौँ, ७ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ । संघिय संसदमा झन्डै तीन चौथाई समर्थनसहित गठन भएको केपी ओपी ओली नेतृत्वको सरकारले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आज अपराह्न ४ बजे प्रस्तुत गरिने नीति तथा कार्यक्रममा जलमार्ग, रेलमार्ग एवं केही ठूला आयोजना प्राथमिकतामा रहेको बुझिएको छ । समृद्धि र विकासको नारा दिएर चुनावमा करिब करिब वहुमत ल्याएको वर्तमान वाम सरकारले सोमबार नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
संसद सचिवालयकाअनुसार आजको कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको छ ।