

आइपिएल अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई प्रतियोगिताबाटै बाहिरिएको छ । अघिल्लो दुई खेलमा दुई विकेट लिएका सन्दीपले यस खेलमा ३ विकेट चट्काए । आइपिएलमा आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका सन्दिपले सानदार प्रदर्शन गरेका छन्।
पहिलो ओभरमै सन्दीपले आफ्नो पहिलाे विकेट लिएका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सुर्यकुमार यादवको विकेट लिन सफल भएका थिए । आफ्नो दोस्रो स्पेलको पहिलो बलमै उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यान केरन पोलार्डको विकेट लिन सफल भए । आफ्नो दोस्रो ओभरकै चौथो बलमा उनले क्रुनल पाण्डेयलाई आउट पारे । सन्दीपको तीनै विकेट क्याच आउटबाट भएको थियाे ।
लिग चरणको अन्तिम खेलमा दिल्लीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मुम्बईले ३ बल अघि नै १ सय ६३ रनको स्कोरमा सवै विकेट गुमायो। हारसँगै साविकको विजेता मुम्बई प्रतियोगिताबाट बाहिरिएको छ।
खेल सकिएपछि प्रतिक्रिया दिँदै दिल्लीका कप्तान श्रेयश ऐय्यरले आजको खेलमा सन्दिपले शानदार बलिङ गरेको बताएका छन्। यसअघि सन्दिपले विराट कोहलीको रोयल च्यालेञ्जर्स बेंग्लोर र महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सको समान १–१ विकेट लिएका थिए।