झापा, २४ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका क्षेत्र नम्बर १ झापाका उम्मेद्वार विश्वप्रकाश शर्माले देश समृद्धि तर्फको बाटोमा लैजानको लागि नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा जिताउनु पर्ने बताएका छन् ।
झापाको १ नम्बर क्षेत्र अन्तर्गत भद्रपुर ९ को मिल चोक, मेचीनगर १५ स्थित ज्यामीरगढी र मेची नगर ६ स्थित मेची डाँडामा भएको कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
नेता शर्माले आजसम्म नेपालको आर्थिक विकास सुस्त हुनुको कारण राजनीतिक अस्थिरता भएको बताउनु भयो । त्यसको मूलकारक कांग्रेसलाई कमजोर पार्ने तात्कालिन दरबार र कम्युनिष्टहरु रहेको बताए ।
उहाँले नेपाली कांग्रेसको नेतृत्वमा देशले संविधानसभाबाट संविधान प्राप्त गरी राजनीतिक व्यवस्थाको टुंगो लागिसकेकोले अब जनताको आकांक्षा अनुरुपको आर्थिक सामाजिक विकास गर्नुपर्ने चरणमा मुलुक प्रवेश गरेको बताए ।
“कांग्रेसबाहेक कसैले यो अभिभारा पूरा गर्न सक्दैन” नेता शर्माले भने,“ कम्युनिष्टहरु फेरि राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता नै ल्याउन खोजिरहेका छन् उनीहरु मुलुकलाई आर्थिक विकासतिर जानै दिदैनन् ।”
कार्यक्रममा सामनुपातिकका उम्मेद्वार तम्मर राई, गोपाल तामाङ्ग, जिल्लाका कार्यवाहक सभापति राम कट्टेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गौरीगञ्जमा ३ सय बढी कांग्रेसमा प्रवेश
झापा क्षेत्र नं ४ को गौरीगञ्ज वडा नं–२ को कोरोवारीमा आयोजित चुनावी सभामा ३ सय भन्दा बढीले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
बुधवार आयोजित आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको वडा स्तरीय चुनावी सभामा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार देउमान थेवेले नव प्रवेशीहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसले मात्र जनताको हक र अधिकारको रक्षा गर्ने भएकाले रुख चिन्हमा भोट दिएर विजय गराउनको लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा क्षेत्र ४ का प्रदेशसभा उम्मेद्वार किरण भट्टराई , पूर्व महासमिति सदस्य सुर्यनारायण ताजपुरिया, क्षेत्र ४ क का निर्वाचन प्रचारप्रसार संयोजक पदम थापा, सह संयोजक दिनेश राजवंशी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व नेपाली कांगे्रस साविक कोरोबारी गाउँ सभापति तथा गौरिगञ्ज गाउँपालिका सहसंयोजक अग्लु राजवंशीले गरेका थिए ।