

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ ।
यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथ उनले गरेको बलिङको विश्वव्यापी चर्चा चलिरहेको छ । अघिल्ला ११ खेलहरुमा किफायती बलर सन्दीपलाई नखेलाएको प्रति आईपीएलका क्रिकेट कमेन्टरहरुले समेत दिल्लीको गल्ती भएको संकेत गरेका छन् ।
चेन्नई सुपर किङ्सविरुद्ध आफ्नो दोस्रो खेलका क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछालेले आफ्नो बलिङको कमाल देखाएका छन् ।उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए बापत उनले एक लाख भारतीय रुपैयाँ पाए। विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेपछि क्रिकेट विश्लेषकहरु सन्दीपको कमालको बलिङको चर्चा गरिरहेका छन् ।
यसअघि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर पार्थिव पटेलको विकेट लिएका सन्दीपले खेलमा त्यो भन्दा किफायती बलिङ गरेका थिए ।
आईपिएलमा सन्दीपको तेस्रो तथा यस सिजनको अन्तिम खेलमा उनको प्रदर्शन आज कस्तो हुने हो, कति विकेट चट्काउलान् मुम्बईको यसै विषयमा उनका समर्थक र विश्लेषकहरुको ध्यान केन्द्रित भएको छ ।