२४१ आरोही सगरमाथाको चुचुरोमा

२४१ आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ शुक्रबार दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।

आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबार मात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् ।

आरोहणको पाँचाैँ दिन बिहीबार २५ जनाले आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण सुरु भएको थियो । आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अबको तीन÷चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ ।

अहिले बाक्लो संख्याका आरोही सगरमाथाको चुचुरो पुगेर धमाधम ओर्लने क्रममा छन् । चुचुरो चढ्ने र ओर्लने धेरै आरोही शिविर तीन र चारमा रहेको सम्पर्क अधिकृत पाण्डेले बताए । सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौथो शिविरमा धेरै आरोही अनुकूल मौसमको प्रतिक्षामा रहेका छन् ।