स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको प्रहरीको दाबी

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको प्रहरीको दाबी

काठमाडौँ, १० माघ।प्रहरीले नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको पाइएको बताएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गरी यसमा खेलाडी, व्यवस्थापक र विचौलिया गरी १० जनाको संलग्नता देखिएको जानकारी दिएको हो ।यसमा ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको छ । खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई सोमबार सीआईबीले पक्राउ गरिसकेको छ ।

आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ । स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।

अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।