एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामै सर्कुलर गरिएको छ । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ ।

कोइरीको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा रहेको घरमा प्रहरीले निगरानी बढाएको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी विदेश भागेको अनुमान प्रहरीले गरेको छ । उनको अनुसन्धान गरिरहेका अधिकृतहरूले भारततिर भागेको हुनसक्ने अनुमान गरेका छन् । गृह मन्त्रालयले माघ ६ मा कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।

राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।

उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा प्रहरीको फरार सूचीमा रहेका कोइरीले वारेसमार्फत उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका उप–महासचिव गिरिराजमणि पोखरेललाई हराए । विजयी भएपछि प्रमाणपत्र लिन पनि वारेस नै पठाएका कोइरीको तर्फबाट मिथिलेश यादवले प्रमाणपत्र बुझेका थिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबारको संसद बैठकमा गृहमन्त्री रवि लामिछानेलाई सस्तो लोकप्रियताका लागि नलोभिन आग्रह गरेका थिए । उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने बताएका थिए । नेपाली कांग्रेसले मान्छे पक्रिन नसक्ने, सूचना जारी गर्ने ? भन्दै प्रश्न गरेको छ ।