बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

-सुभानु आचार्य-

ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।

यही माघ १ देखि ८ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ उद्घाटनका क्रममा आइतबार ललितपुर जिल्ला प्रतिनिधि तथा प्रदेश सभाका सांसदका साथै सो नगरपालिकाका प्रमुखले व्यक्तिगत रुपमा चन्दा प्रदान गरी उक्त कामको थालनी गर्नुभएको हो ।

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद उदय शमशेर राणाले देवीको नित्य पूजा गर्न अतिनै जरुरी रहेको भनाइ राख्दै यसलाई संरक्षण गर्दै अघि बढिने वचनवद्धताका साथ अक्षयकोष स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “बज्रवाराहीदेवीको मन्दिर भनेको यो भेगकै महत्वपूर्ण मन्दिर हो । यस मन्दिरमा लामो समयदेखि रोकिरहेको नित्य पूजा अघि बढाउन आफूले सक्ने निकायबाट रुकम संकलन गरी पुनः ल्याएर प्रदान गर्नेछु ।”

ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद प्रेम महर्जनले सो सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने मत व्यक्त गर्दै आफूले चिनेका साथीभाई आदिबाट रकम जम्मा गरी सप्ताह सम्पन्न हुनु अघि रकम ल्याएर समितिलाई बुझाउने वचनवद्धता गर्नुभयो ।

ललितपुर क्षेत्र नं ३ (१) प्रदेशसभाका सदस्य रघुनाथ महर्जनले देवीको ३० वर्ष अघिदेखि राकिरहेको नित्य पूजा सञ्चालन गराउन र हाल अघि बढिरहेको श्रीमदभागवत सप्ताह सफल बनाउन आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार पाँच सय १ प्रदान गर्ने घोषणा गरी बाँकी रकम पछि पुनः सहयोग गर्ने जानकारी गराउनुभयो ।
ललितपुर क्षेत्र नं ३ (२) प्रदेशसभाका सदस्य प्रेमभक्त महर्जनले मन्दिरमा हाल अघि बढिरहेको सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्दै मन्दिरको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा रु १० हजार एक सय एक प्रदान गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

सो नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराहीदेवी पनि एक प्रमुख वाराही रहेको जानकारी गराउँदै आफ्नो नगरपालिका भित्र रहेको सो मन्दिरको संरक्षणमा विशेष जिम्मेवारीबोध गर्दै व्यक्तिगत रुपमा रु २५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा गरी अक्षयकोष स्थापनाको कार्य सफल बनाउने भनाइ राख्नुभयो ।
हिजोदेखि आउँदो आइतबारसम्म अघि बढिरहेको सप्ताहा ज्ञानमहायज्ञ श्रवण गर्नाका लागि इच्छुक महानुभावलाई बज्रवाराही आउन श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “मन्दिरको नाममा रहेको जग्गा हराएपछि यहाँ नित्य पूजा हुन सकेको छैन । ३० वर्षअघि मन्दिरमा नित्य पूजा आदि हुन्थ्यो । मन्दिरमा दैनिक पूजा चलाउन खर्च जुटाउन नसकेपछि नित्य पूजा रोकिएको हो ।”

आउँदो आइतबारसम्म चलिरहेको सप्ताहा महायज्ञ सफल बनाएर अक्षयकोष खडा गरी देवीको नित्य पूजा पुनः निरन्तरता गराउन आफू एक महिना अघिदेखि लागिरहेको समितिका प्रमुख सल्लाहकार विश्वनाथ न्याैपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई सफल बनाउन इच्छुक व्यक्तिबाट सल्लाह र सुझावको समेत आशा गरिरहेका छाैँ ।”
ऐतिहासिक धार्मिक देवीको मन्दिरबारे आउँदा पूर्खाले पनि बुझ्न र जान्न जरुरी रहेको भनाई राख्दै धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित गर्ने सल्लाहकार डा.नारायणहरी गजुरेलले जिकीर गर्नुभयो ।

नेपालमा गजुर नभएको मन्दिरको नाममा बज्रवाराही देवीको मन्दिर प्रख्यात रहेको छ । सो मन्दिरमा पण्डित कपिलदेव भट्टको मुखारबिन्दबाट कथा वाचन भइरहेको छ ।
नेपाल संवत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका कुरा अध्यक्ष कर्माचार्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गर्नुभएको कुरा सुन्न पाइन्छ ।”

भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ । उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ । त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ ।