

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानबाट जितका लागि १०३ रनको लक्ष्य पाएको छ। निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको हो।
अफगानिस्तानलाई सानो योगफलमा रोक्न नेपालका कुशल भुर्तेलले ४ विकेट तथा ललित राजवंशीले ३ विकेट लिए। ललितले ४ ओभरमा मात्र १३ रन खर्चिएर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे।
नेपालका करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे।
अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जड्रानले समान ३० रन बनाए। नन्गेलिया खान १२ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अब नेपालले केहीबेरमा १०३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।