

सुर्खेत, २ जेठ । मकालु एयरको विमान दुर्घटनामा परेको छ । आज बिहानदेखि हराइरहेको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटको लागि उडेको विमानमा रहेका दुवै चालकको मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।
सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको छ । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।
सुर्खेत विमानस्थल कार्यालयका अनुसार विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको नाइन एन ए जे यु कलसाइन रहेको विमान चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले विमान उडाउनुभएको थियो ।
