एकीकरण प्रक्रिया ‘स्थगन’, एमाले–माओवादीबीच मतभेद चुलिँदै

एकीकरण प्रक्रिया ‘स्थगन’, एमाले–माओवादीबीच मतभेद चुलिँदै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् । एक नेताले भने– ‘खास गरी प्रधानमन्त्रीको हेपाह प्रवृतीले शंका उत्पन्न गराएको छ ।’ ओलीको कार्यशैलीप्रति माओवादी सशंकित  शीर्षकमा प्रकाशित यो खबर आजको कारोवार दैनिकबाट लिएका हौं ।

त्यसैगरी यही प्रसंगको खबर एमाले–माओवादी एकीकरण प्रक्रिया  ‘स्थगन’   शीर्षकमा आजको नागरिक दैनिकले पनि खबर बनाएको छ । नेकपा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ भनेर नागरिकले लेखेको छ ।

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पातलिँदै गएको छ । माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् । माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग व्यक्त गरेका हुन् ।

यसै प्रसंगमा आजको अन्नपूर्ण पोष्ट दैनिकले पनि ‘एमाले–माओवादी मतभेद चुलिँदै’ शीर्षकमा खबर प्रकाशित गरेको छ । सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।