संसदीय दलको नेतामा देउवा र थापाले दिए उम्मेदवारी

संसदीय दलको नेतामा देउवा र थापाले दिए उम्मेदवारी

काठमाडौं, ५ पुस।नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ भने महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहनुभएको छ ।

संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि महामन्त्री थापाले उम्मेद्वारी फिर्ता दिन पार्टी सभापतिलाई आग्रह गर्नुभयो । थापाले कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन सांसदहरुलाई पनि आग्रह गर्नुभयो । उहाले पार्टीका अन्य नेताहरुलाई पनि मुलुकको भविष्यप्रति चिन्ता गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।त्यस्तै शेखर कोइरालाले मुलुकको स्थायीत्वका लागि आफुले थापालाई सहयोग गरेको धारणा राख्नुभयो ।

कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका ८९ सांसदहरुले मतदान गर्नेछन् । नेपाली कांग्रेसमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान छ ।