काठमाडौं, ३१ वैशाख । आजदेखि मुलुक लोडसेडिङमुक्त भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति आजदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताएका छन् । करिब तीन घण्टा लोडसेडिङ खेपिरहेका उद्योगहरुमा आजदेखि चौबीसै घण्टा बिजुली उपलब्ध हुनेभएको छ ।
प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणले गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक ग्राहकका हकमा दैनिक तीन घण्टा आपूर्ति कटौति गर्दै आएको थियो । आगामी हिउँदसम्म सरकारी र निजी क्षेत्रका आयोजनाबाट बिजुली थपिने भएकाले बाह्रैमास औद्योगिक क्षेत्रसहित देशभर लोडसेडिङमुक्त अभियान जारी राख्न सकिने विश्वास प्राधिकरणको छ ।
‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने, ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’