कतार । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे । जितसँगै दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुङ्गिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल आज राति पौने १ बजे सुरु हुनेछ ।