काठमाडाैँ, २९ वैशाख । नेपालकाे राजकिय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । भेटमा माेदीले देउवालाई संविधान अनुरुप सफलता पूर्वक निर्वाचन सम्पन्न गरेर लोकतन्त्रको जग बलियो बनाएकोमा बधाई दिएका छन्।
प्रमुख विपक्षी दलका नेता देउवालाई स्थानीय तह, सातै प्रदेश र संघीय संसदको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई संस्थागत गराउन महत्वपूर्ण भूमिका खेलेकोमा माेदीले धन्यवाद दिएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।
कांग्रेस सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा उनलाई नेपालमा स्वागत गर्दै उनको नेपाल भ्रमण र बसाई दुबै सफल रहोस् भन्ने आफ्नो कामना रहेको बताएका थिए।
नेपालका प्रमुख धार्मिक स्थल जनकपुर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीले गरेको सफल भ्रमणले नेपालको धार्मिक पर्यटनको विकासमा ठूलो मद्दत पुर्याउन सक्ने विचार देउवाले व्यक्त गरेका थिए।
त्यसैगरी शुक्रबारदेखि नै जनकपुर अयोध्या बस सेवा सञ्चालन गर्ने कार्यले दुई देशबीचको धार्मिक पर्यटन र आपसी सम्बन्ध पनि बलियो बनाउने बताउँदै नेपालका धार्मिक तीर्थस्थलहरुमा मोदीको भ्रमणको प्रभावले थप भारतीय तीर्थयात्रीलाई पनि प्रोत्साहन गर्ने कार्यमा सहयोग मिलेको देउवाले बताएका थिए।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई यी तीर्थस्थलको भ्रमण गर्न सभापति देउवाले पहिले नै दिएको सुझाव अनुसार आफूले भ्रमण गरेको बताएका थिए। आफूले गरेका तीन तीर्थस्थलको भ्रमण अत्यन्त सफल र राम्रो भएकोमा प्रसन्नता व्यक्त गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई लिएर गएका थिए।